लङ COVID

लङ COVID भनेको के हो?

COVID-19 बाट सङ्क्रमित भएका मानिसहरूमा “लङ COVID” वा “पोस्ट-COVID सिन्ड्रोम” नामक सङ्क्रमण पछि लक्षण र दीर्घकालीन प्रभावहरू रहिरहन सक्छन्। लङ COVIDको बारेमा अझ पनि धेरै कुरा थाहा पाउन बाँकी छ। लङ COVIDको बारेमा अनुसन्धान जारी रहँदा हामी थप जानकारी प्राप्त गरिरहने छौँ।

लङ COVIDका लक्षणहरू

लङ COVID भएका मानिसहरूमा विभिन्न लक्षणहरू हुन सक्छन् जुन सङ्क्रमण भएपछि हप्तौँ, महिनौँ वा वर्षौंसम्म रहन सक्छ।

लक्षणहरूमा निम्न लगायत पर्न सक्छन्:

  • थकान महसुस हुने, विशेष गरी मानसिक वा शारीरिक श्रमपछि
  • ज्वरो
  • सास फेर्न गाह्रो हुने
  • खोकी लाग्ने
  • छाती दुख्ने
  • गन्ध र/वा स्वादमा परिवर्तन हुने
  • सोच्न वा ध्यान केन्द्रित गर्न कठिनाइ हुने वा “ब्रेन फग”
  • टाउको दुख्ने
  • पेट दुख्ने
  • महिनावारी चक्रमा परिवर्तन हुने

कस-कसमा लङ COVID हुन सक्छ?

COVID-19 बाट सङ्क्रमित सबैमा लङ COVID हुन सक्छ। यो विशेष गरी अस्पताल भर्ना हुनुपर्ने COVID-19 का गम्भीर लक्षणहरू भएका मानिसहरूमा बढी हुन्छ। COVID-19 सङ्क्रमणको समयमा वा पछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम हुने मानिसहरूलाई लङ COVIDको बढ्दो जोखिम हुन सक्छ।  महिला, वृद्धवृद्धा, अन्तर्निहित स्वास्थ्य समस्या भएका व्यक्ति र खोप नलगाएका मानिसहरूमा लङ COVID हुने सम्भावना बढी देखिन्छ। धेरै पटक COVID-19 भएका मानिसहरूमा लङ COVID लगायत थप स्वास्थ्य जोखिमहरू पनि हुन सक्छन्।  

 

लङ COVIDको रोकथाम

COVID-19 को सङ्क्रमण हुन नदिनु नै लङ COVIDबाट बच्ने सबैभन्दा राम्रो उपाय हो। आो हात धोएर, भीडमा जाँदा मास्क लगाएर, बिरामी हुँदा घरमै बसेर र सिफारिस गरिएका खोप र बुस्टर डोजहरू लगाएर आफू र अरूलाई COVID-19 बाट बचाउनुहोस्।

खोप लगाएर पनि COVID-19 सङ्क्रमण हुने व्यक्तिहरूमा खोप नलगाएका व्यक्तिहरूको तुलनामा लङ COVID विकास हुने सम्भावना कम हुन सक्छ।

COVID-19 विरुद्ध खोप लगाउने बारे जानकारी प्राप्त गर्नुहोस्

लङ COVIDको निदान

लङ COVIDको निदान गर्न गाह्रो हुन सक्छ। बिरामीहरूलाई लक्षणहरू व्याख्या गर्न गाह्रो हुन सक्छ। निदान गर्नका लागि कुनै ल्याब परीक्षण वा इमेजिङ अध्ययनको विकास भएको छैन। बिरामीलाई लङ COVID भएको भए पनि चिकित्सा परीक्षणहरूले सामान्य नतिजा देखाउन सक्छन्।

लङ COVIDका लक्षणहरू रिपोर्ट गरेका केही मानिसहरूमा COVID-19 लक्षणहरू देखिएन र सुरुमा बिरामी हुँदा उनीहरूले COVID-19 को परीक्षण गराएनन्। यसले उनीहरूलाई COVID-19 भएको पुष्टि गर्न गाह्रो बनाउँछ र लङ COVIDको निदान कठिन वा ढिलाइ हुन सक्छ। पहिले बिमारी महसुस गर्ने बित्तिकै तपाईंले COVID-19 को परीक्षण गराउँदा पछि तपाईंमा लङ COVID निदान गर्न मद्दत पुग्न सक्छ।

बिरामीलाई सुझावहरू: पोस्ट-COVID समस्याहरूका लागि स्वास्थ्य सेवा प्रदायकसँग अपोइन्टमेन्ट (अङ्ग्रेजीमा)

नयाँ र पहिलेदेखि नै विद्यमान स्वास्थ्य समस्याहरू

COVID-19 सङ्क्रमणले धेरै अङ्ग प्रणालीहरूमा असर पुर्‍याउन सक्छ र कहिलेकाहीँ अटोइम्युन अवस्थाहरू ट्रिगर गर्न सक्छ जसले लङ COVIDका लागि भूमिका खेल्न सक्छ। शरीरको प्रतिरक्षा प्रणालीले शरीरका प्रभावित अङ्गहरूमा सुजन वा तन्तु क्षति निम्त्याउँदा अटोइम्युन अवस्थाहरू आउन सक्छ। यसको अर्थ COVID-19 भएका मानिसहरूमा मधुमेह वा मुटुका समस्याहरू जस्ता नयाँ स्वास्थ्य समस्याहरू विकास हुने सम्भावना बढी हुन्छ।  मधुमेह र मुटुको रोग जस्ता पहिलेदेखिका स्वास्थ्य समस्याहरू पनि COVID-19 को सङ्क्रमणपछि झन खराब हुन सक्छन्।

लङ COVID र असक्षमता अधिकार

लङ COVIDले शारीरिक र मानसिक अशक्तता निम्त्याउन सक्छ र यसलाई Americans with Disabilities Act (ADA, अमेरिकी असक्षमता ऐन) अन्तर्गत असक्षमता मानिन्छ। लङ COVID भएका मानिसहरू असक्षमता विभेदबाट कानुनी रूपमा सुरक्षित छन्। उनीहरू लङ COVIDसँग सम्बन्धित सीमितताहरू समायोजन गर्न व्यवसाय, राज्य र स्थानीय सरकारहरूबाट उचित परिमार्जनहरूको हकदार हुन सक्छन्।

ADAअन्तर्गत असक्षमताको रूपमा "लङ COVID" सम्बन्धी मार्गदर्शन (अङ्ग्रेजीमा)

लङ COVID र गर्भावस्था

गर्भवती वा भर्खरै गर्भवती भएका मानिसहरू COVID-19 बाट गम्भीर बिरामी हुने सम्भावना बढी हुन्छ। COVID-19 ले गर्भावस्था र वृद्धिको क्रममा रहेको बच्चालाई असर पार्ने जटिलताहरू निम्त्याउन सक्छ।

लङ COVIDले गर्भावस्थालाई कसरी असर गर्न सक्छ भन्ने बारेमा अझ पनि धेरै कुरा थाहा पाउन बाँकी नै छ। National Institutes of Health (NIH, राष्ट्रिय स्वास्थ्य संस्थान) (अङ्ग्रेजीमा) ले गर्भवती हुँदा COVID-19 भएका महिला र उनीहरूका सन्तानमा COVID-19 को दीर्घकालीन प्रभावको सम्बन्धमा 4-वर्षे अध्ययन गर्ने छ।

लङ COVID र युवा

युवा पनि लङ COVIDबाट बिरामी पर्न सक्छन्। थकान र ध्यान केन्द्रित गर्न कठिनाइ हुने जस्ता लङ COVIDका लक्षणहरू अनुभव गर्ने युवालाई विद्यालय र अन्य क्रियाकलापहरूमा सहभागी हुन कठिनाइ हुन सक्छ। साना बच्चाहरूलाई आफ्ना लक्षणहरू बताउन गाह्रो हुन सक्छ।

लङ COVID भएका बालबालिकाहरू 2 सङ्घीय कानुनहरू (अङ्ग्रेजीमा) अन्तर्गत विशेष शिक्षा, सुरक्षा वा सम्बन्धित सेवाहरूका लागि योग्य हुन सक्छन्।

युवाले COVID-19 विरुद्धको खोप लगाउनु नै युवामा लङ COVID हुन नदिने सबैभन्दा राम्रो उपाय हो।

युवालाई खोप लगाउने बारे थप जान्नुहोस्

चिकित्सकहरूका लागि जानकारी