दादुरा

दादुरा अत्यन्तै छिटो र सजिलै सर्ने रोग हो । विशेष गरी साना बच्चाहरूका लागि यो रोग गम्भीर र घातक पनि हुन सक्छ । दादुराको रोकथाम गर्नका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप उपलब्ध छ । 1 वर्ष वा सोभन्दा बढी उमेरका सबैलाई दादुरा खोप लगाउन सिफारिस गरिन्छ । वासिङ्टन राज्यमा स्कुल र बाल स्याहार केन्द्रमा उपस्थित हुन दादुरा खोप लगाउनु अनिवार्य छ । बाल स्याहार केन्द्र वा प्रिस्कुलमा काम गर्ने कर्मचारी र स्वयंसेवकहरूले पनि यो खोप अनिवार्य रूपमा लगाउनुपर्छ । संयुक्त राज्यमा, "Measles, Mumps and Rubella (MMR, दादुरा, हाँडे र रुबेला)" र "Measles, Mumps, Rubella and Varicella (MMRV, दादुरा, हाँडे, रुबेला र भेरिसेला)" नामक दादुरा खोपहरू उपलब्ध छन् ।

दादुरा भाइरससम्बन्धी जानकारी

  • दादुराको भाइरस हावाबाट सर्छ । दादुरा भाइरस भएको व्यक्तिको नजिक जाँदा पनि तपाईंलाई दादुरा सर्न सक्छ किनकि सो भाइरस दादुरा भएको व्यक्ति गएको कोठाको हावामा दुई घण्टासम्म रहन्छ ।
  • दादुरा लागेको व्यक्तिलाई डाबर देखा पर्नुभन्दा 4 दिन अघिदेखि र डाबर देखा परेपछि 4 दिनसम्म दादुरा सर्न सक्छ ।
  • यो रोग विरुद्ध प्रतिरोधात्मक क्षमता विकास नभएका लगभग सबैलाई दादुरा भाइरसको सम्पर्कमा आएमा दादुरा रोग लाग्ने छ ।
  • विदेश यात्रा वा विदेशी यात्रीहरूसँगको सम्पर्कले दादुरा सर्ने जोखिम बढाउँछन् ।

रुबिओला पनि भनिने यस दादुरा रोग बाल्यकालमा लाग्ने डाबर/ज्वरोजन्य रोगहरूमध्ये सबैभन्दा घातक रोग हो । यो विश्वभरका बालबालिकाको मृत्युको एक प्रमुख कारक हो । U.S. Centers for Disease Control and Prevention (अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र) सँग दादुराको राष्ट्रव्यापी प्रकोप (अङ्ग्रेजी र स्पेनीमा मात्र) को बारेमा जानकारी उपलब्ध छ ।

दादुरा विरुद्ध सबैभन्दा उत्तम सुरक्षा भनेको खोप लगाउनु हो । दादुराको खोप सुरक्षित र अत्यन्तै प्रभावकारी छ । दादुरा, हाँडे र रुबेला (MMR) खोप (लिङ्क अङ्ग्रेजी र स्पेनी भाषामा मात्र उपलब्ध छ) लगाएर आफू र आफ्ना बच्चाहरूलाई यो रोगबाट सुरक्षित राख्नुहोस् ।

दादुराका लक्षणहरू

An infant with measles

दादुरा निम्न लक्षणहरूसहित सुरु हुन्छ:

  • ज्वरो
  • झाडा पखाला
  • खोकी
  • नाकबाट सिँगान बग्ने
  • आँखा रातो हुने र आँसु बग्ने
  • थकाइ लाग्ने

केही दिनपछि डाबर आउन सुरु हुन्छ, जुन सामान्यतया अनुहारबाट सुरु भएर सम्पूर्ण शरीरभरि फैलिन सक्छ ।

केही व्यक्तिहरू, विशेष गरी दीर्घकालीन स्वास्थ्य समस्या भएका, गर्भवती वा कुपोषित व्यक्तिहरूमा दादुराले निमोनिया, मस्तिष्कमा क्षति, अन्धोपन, बहिरोपन र मृत्यु जस्ता गम्भीर समस्याहरू पनि निम्त्याउँछ ।

दादुरा सामान्यतया 7 देखि 10 दिनसम्म रहन्छ ।

MMR खोपका बारेमा

MMR खोप (लिङ्क अङ्ग्रेजी र स्पेनी भाषामा मात्र उपलब्ध छ) ले दादुरा, हाँडे र रुबेला विरुद्ध सुरक्षा प्रदान गर्दछ । MMRV नामक अर्को खोपले ती तीनवटा रोगका साथै ठेउलाबाट पनि बचाउँछ । दादुराको लागि मात्र बनाइएको खोप अमेरिकामा उपलब्ध छैन ।

बच्चाहरूलाई दुई डोज लगाउनुपर्छ: पहिलो डोज 12 र 15 महिनाको बिचमा र दोस्रो डोज 4 र 6 वर्षको बिचमा लगाउनुपर्छ। यदि तपाईंको परिवार अमेरिकाबाहिर यात्रा गर्दै गरेको भएमा, तपाईंको बच्चालाई 6 देखि 12 महिनाको उमेरमा अतिरिक्त डोज लगाउन सकिन्छ ।

सन् 1956 पछि जन्मेका वयस्क व्यक्तिहरूले पहिले MMR खोप लगाइसकेका छैनन् भने उनीहरूले MMR खोपको एक डोज लगाउनुपर्छ ।

आफ्ना बालबच्चालाई MMR वा MMRV खोप लगाउनका लागि आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस् । वासिङ्टनले 18 वर्षसम्मका बच्चाहरूलाई MMR र MMRV खोप निःशुल्क उपलब्ध गराउँछ र ती खोपहरू राज्यभरका स्वास्थ्य सेवा प्रदायकहरूबाट उपलब्ध छन् । सेवा प्रदायकहरूले कार्यालय परामर्श शुल्क र खोप लगाउने शुल्क लिन सक्छन्, जसलाई प्रशासन शुल्क भनिन्छ । तर, यदि तपाईं प्रशासन शुल्क तिर्न सक्नुहुन्न भने, तपाईंले आफ्ना सेवा प्रदायकलाई यो शुल्क छुट दिन अनुरोध गर्न सक्नुहुन्छ ।

यदि तपाईं वा तपाईंको बच्चाले MMR, MMRV, वा दादुराको अर्को खोप पहिल्यै लगाइसक्नुभएको छ तर तपाईंसँग खोप लगाएको देखाउने मेडिकल रेकर्ड छैन भने, तपाईं वा तपाईंको बच्चाले MMR वा MMRV खोपको डोज दोहोर्‍याउनुपर्ने हुन सक्छ । पहिले नै खोप लगाइसकेका मानिसहरूका लागि पनि यो खोपको अतिरिक्त डोज लगाउनु सुरक्षित छ ।

वासिङ्टन राज्यमा बाल स्याहार केन्द्र, Early Childhood Education and Assistance Program (ECEAP, प्रारम्भिक बाल शिक्षा तथा सहायता कार्यक्रम) र Head Start (हेड स्टार्ट) संस्थाहरूमा काम गर्ने कर्मचारी र स्वयंसेवकहरूले अनिवार्य रूपमा दादुरा विरुद्धको खोप लगाउनुपर्छ ।

यदि तपाईं दादुरा विरुद्धको खोपको अर्को डोज लगाउन चाहनुहुन्न भने, तपाईं आफ्नो चिकित्सकलाई तपाईंको रोग प्रतिरोधात्मक क्षमता विकास भएको छ कि छैन भनेर जाँच गर्न अनुरोध गर्न सक्नुहुन्छ । यसलाई एन्टिबडी टिटर भनिन्छ । बिमा कम्पनीले यो परीक्षणको शुल्क नबेहोर्न सक्छ ।

हामी सबैको सुरक्षा गर्न एकसाथ खडा हुनुहोस्: Jaxon को कथा

पोर्ट अर्चर्ड, वासिङ्टनकी Paula Abalahin ले आफ्नो छोरा Jaxon को कथा सुनाउनुहुन्छ:

Paula hugging Jaxon

 
मेरो छोरा Jaxon 7 महिनाको हुँदा दादुरा भयो, खोप लगाउन ऊ धेरै कलिलो थियो । ऊ निको भयो, तर पाँच वर्षपछि उसलाई छोपुवा बिमारी सुरु भयो । उसको निल्ने, बोल्ने र हिँड्ने क्षमता गुमेको थियो । धेरै पीडा सहेर, Jaxon को केही वर्षपछि मृत्यु भयो । उसको त्यस्तो अवस्था दादुराको भाइरसले गर्दा भएको थियो ।

“प्रभावकारी खोप उपलब्ध हुँदाहुँदै पनि दादुरा अझै पनि विश्वभर कलिला बालबालिकामा हुने मृत्युको प्रमुख कारण हो भन्ने हामीले थाहा पायौँ । र हाम्रो समुदायमा आमाबाबुले आफ्ना बच्चाहरूलाई पूर्ण रूपमा खोप लगाइरहेका छैनन्, जसले उनीहरूलाई दादुरा र अन्य भयानक रोगहरू सर्ने तथा फैलाउने जोखिममा पार्छ । मलाई आशा छ, मेरो कथाले अर्को बच्चालाई मेरो छोराले भोगेको नियति भोग्नबाट जोगाउन मद्दत गर्ने छ ।"

दादुरासम्बन्धी स्रोतहरू

अङ्ग्रेजीमा मात्र उपलब्ध दादुरासम्बन्धी स्रोतहरू