कोभिड-19

 

कोभिड-19 सम्बन्धी जानकारी प्रदान गरिने हटलाइन

तपाईंसँग कोभिड-19 का बारेमा प्रश्नहरू छन् भने 1-800-525-0127 मा फोन गर्नुहोस् र 7 थिच्नुहोस् । उनीहरूले फोन उठाएपछि तपाईं जुन भाषाको दोभासे सेवा प्राप्त गर्न चाहनुहुन्छ उक्त भाषाको नाम भन्नुहोस् । यो हटलाइन सेवा सोमवार बिहान 6 बजेदेखि राति 10 बजेसम्म र मङ्गलवारदेखि बुधवार (र बिदाका दिनमा) बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म उपलब्ध छ ।

तपाईं कोभिड-19 विरुद्धको खोप लगाउन चाहनुहुन्छ तर घरबाट निस्कन सक्नुहुन्न ?

 तपाईं तीन तरिकाले आफ्नो नाम दर्ता गर्न सक्नुहुन्छ (अङ्ग्रेजी भाषामा उपलब्ध छ) अथवा कोभिड-19 सम्बन्धी हटलाइन 1-800-525-0127 मा फोन गरेर 7 थिच्नुहोस् ।

कोरोना भाइरस (कोभिड-19) विरुद्धको खोप

तपाईं कोभिड-19 विरुद्धका खोपहरूका बारेमा पछिल्लो तथा विस्तृत जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने कृपया यो वेबपेजमा जानुहोस्: कोभिड-19 विरुद्धको खोपको बारेमा जानकारी

कोभिड-19 का लक्षण र रोकथामका उपायहरू

कोभिड-19 का लक्षणहरू यस प्रकार छन्:

  • ज्वरो आउने, चिसो लाग्ने, खोकी लाग्ने, स्वाँस्वाँ हुने वा सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद वा गन्ध हराउने, घाँटी दुख्ने, नाक बन्द हुने वा सिँगान बग्ने, वाकवाकी लाग्ने वा वान्ता हुने र पखाला लाग्ने ।
  • तपाईंमा कोभिड-19 का निम्न गम्भीर लक्षणहरू देखिएका खण्डमा 911 मा फोन गर्नुहोस्:
    • सास फेर्न गाह्रो भएमा
    • लगातार छाती दुखेमा वा दबाब महसुस भएमा
    • अचानक अलमल महसुस भएमा
    • प्रतिक्रिया दिन नसकेमा
    • ओठ वा अनुहारको रङ बैजनी भएमा
  • कुन कुन समूहका मानिसहरू जोखिममा छन् ?

म आफू र आफ्नो परिवारलाई कसरी सुरक्षित राख्न सक्छु ?

  • खोप लगाउनुहोस् र तपाईं योग्य हुनुहुन्छ भने बुस्टर डोज पनि लगाउनुहोस् ।
  • तपाईं बिरामी हुनुहुन्छ भने घरमै बस्नुहोस् ।
  • भीडभाडयुक्त सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनुहोस् र अरूसँग छ फिट (दुई मिटर) को भौतिक दूरी कायम गर्नुहोस् ।
  • भीडभाड र हावा राम्ररी प्रवाह नहुने ठाउँमा नजानुहोस् ।
  • नियमित रूपमा हात धुनुहोस् र ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुहोस् ।
  • खोक्दा र हाच्छिउँ गर्दा कुहिना वा टिस्युले नाक र मुख छोप्नुहोस् ।
  • अनुहार, मुख, नाक वा आँखामा नछुनुहोस् ।
  • आफ्नो घरका सतहहरू सफा गर्नुहोस् ।
  • तपाईंमा कोभिड-19 का लक्षणहरू देखिएका छन् भने आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस् । तपाईंको स्वास्थ्य सेवा प्रदायक छैन भने आफ्नो नजिकको आकस्मिक सेवा केन्द्र वा सामुदायिक स्वास्थ्य केन्द्रबाट परामर्श लिनुहोस् । तपाईंले बिमा गराउनुभएको छैन भने स्थानीय स्वास्थ्य विभागमा सम्पर्क गर्नुहोस् ।
कोभिड-19 को परीक्षण

तपाईं कोभिड-19 को परीक्षणका बारेमा पछिल्लो तथा विस्तृत जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने कृपया यो वेबपेजमा जानुहोस्: कोभिड-19 को परीक्षणसम्बन्धी जानकारी

क्वारेन्टाइन र आइसोलेसन

यी शब्दको अर्थ थाहा पाउन र कति समयसम्म आइसोलेसन वा क्वारेन्टाइनमा बस्नु पर्छ भन्ने बारेमा जानकारी प्राप्त गर्न आइसोलेसन र क्वारेन्टाइन अवधिको क्याल्कुलेटर नामक वेबपेजमा जानुहोस् ।

मास्कको प्रयोग

कोभिड-19 लागेको व्यक्तिले मास्क लगाउनुभएको छ भने उहाँले बोल्दा, खोक्दा वा हाच्छिउँ गर्दा मास्कले भाइरसयुक्त कणहरू हावामा निस्कन दिँदैन । कोभिड-19 लागे पनि सामान्य लक्षणहरू मात्र देखिन वा कुनै पनि लक्षण नदेखिन सक्छ । तपाईंले मास्क लगाउनुभयो भने तपाईंलाई कोभिड-19 लागेको थाहा नभए पनि अरू मान्छेलाई कोभिड-19 सर्नबाट जोगाउन सकिन्छ । कोभिड-19 ले गर्दा तपाईंमा सामान्य लक्षणहरू मात्र देखिएको भए तापनि यो रोग अरूका लागि घातक हुन सक्छ ।

तल मास्क लगाउने तरिकाका बारेमा जानकारी दिइएको छ:

  • मास्कले तपाईंको नाक र मुख राम्रोसँग छोपेको हुनु पर्छ र गालामा टप्प टाँसिएको हुनु पर्छ ।
  • मास्कको डोरीमा समाएर मास्क लगाउनु पर्छ र त्यसरी नै फुकाल्नु पर्छ । मास्कको अगाडिको भाग वा आफ्नो अनुहारमा छुनु हुँदैन ।
  • मेडिकल मास्क हरेक दिन फेर्नु पर्छ र त्यसलाई सुरक्षित रूपमा फाल्नु पर्छ । तपाईं कपडाको मास्क लगाउनुहुन्छ भने उक्त मास्क हरेक दिन धुनु पर्छ र नियमित रूपमा हात धुनु पर्छ ।
  • दुई वर्षभन्दा साना बालबालिकाले कहिले पनि मास्क लगाउनु हुँदैन र 2 देखि 4 वर्षका बालबालिकाले वयस्क व्यक्तिको सुपरिवेक्षणमा मास्क लगाउनु पर्छ ।
  • अनिवार्य रूपमा मास्क लगाउनु पर्ने आदेशहरू केही निश्चित स्वास्थ्य समस्या भएका मानिसहरूलाई लागू हुँदैन । तपाईंसँग मास्कको प्रयोगका बारेमा प्रश्नहरू छन् भने आफ्नो चिकित्सकसँग सल्लाह लिनुहोस् ।
स्टोर र सार्वजनिक स्थानहरूमा जाँदा अझ सुरक्षित रहने तरिका

आफू र अरूलाई कोभिड-19 सर्न नदिन तपाईंले घरबाट निस्कनुअघि, बाहिर हुँदा र घर फर्केपछि विभिन्न कुरामा ध्यान दिनु पर्छ ।

घरबाट निस्कनुअघि:

  • तपाईं बिरामी हुनुहुन्छ भने सम्भव भएसम्म स्टोर वा अन्य सार्वजनिक स्थानमा नजानुहोस् । आफ्नो परिवारको सदस्य वा साथीलाई सामान ल्याइदिन लगाउनुहोस् ।
  • यदि सकिन्छ भने किराना सामग्री, औषधि र अन्य वस्तुहरू घरमै डेलिभरी हुने गरी अनलाइन अर्डर गर्नुहोस् ।
  • विशेष समयतालिकाहरू हेर्नुहोस् । 65 वर्षभन्दा बढी उमेरका वृद्धवृद्धा र निश्चित स्वास्थ्य समस्या भएका मानिसहरूलाई सेवा प्रदान गर्न स्टोरले विशेष समय तोकेको हुन सक्छ । सम्भव भएमा स्टोरमा कम भीडभाड हुने समयमा जानुहोस् ।
  • घरबाट निस्कनुअघि हात धुनुहोस् ।

तपाईं घरबाहिर हुँदा:

  • आफ्नो नाक र मुख छोपिने गरी मास्क लगाउनुहोस् ।
  • आफू र अरूका बीचमा कम्तीमा छ फिट (दुई मिटर) को भौतिक दूरी कायम गर्नुहोस् (भुक्तानी गर्ने काउन्टरको लाइनमा समेत) ।
  • खोक्दा र हाच्छिउँ गर्दा आफ्नो नाक र मुख छोप्नुहोस् ।
  • आफ्नो अनुहारमा नछुनुहोस् ।
  • तपाईं किनमेल गर्दै हुनुहुन्छ भने ह्यान्ड स्यानिटाइजर वा एन्टिसेप्टिक टिस्यु प्रयोग गरेर कार्टको ह्यान्डल वा सपिङ बास्केट सफा गर्नुहोस् ।

तपाईं घर पुगेपछि:

  • तपाईंले कपडाको मास्क लगाउनुभएको छ भने उक्त मास्क फुकाल्नुहोस् र धोएर सुरक्षित तरिकाले राख्नुहोस् । तपाईंले एक पटक मात्र प्रयोग गर्न मिल्ने मास्क (डिस्पोजेबल मास्क) लगाउनुभएको छ भने त्यसलाई सुरक्षित तरिकाले फाल्नुहोस् ।
  • हात धुनुहोस् ।
  • खानेकुराको सुरक्षासम्बन्धी अभ्यासहरू पालना गर्नुहोस् । खानेकुरा निसङ्क्रमण (डिसइन्फेक्ट) नगर्नुहोस् । फलफुल र तरकारी अरू बेला जसरी नै पखाल्नुहोस् ।
  • कोभिड-19 को महामारीका बेला किराना सामग्री सुरक्षित तरिकाले किनमेल गर्ने तरिका । (अङ्ग्रेजी भाषामा उपलब्ध छ)
सिकिस्त बिरामी हुने उच्च जोखिम भएका मानिसहरू

सिकिस्त बिरामी हुने उच्च जोखिम भएका मानिसहरू निम्नलिखित अतिरिक्त सावधानीहरू अपनाउन सक्छन्:

  • तपाईंलाई परामर्श चाहिएमा आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस् । केही क्लिनिकहरूले बिरामीसँग कुरा गर्न "बिरामीको पोर्टल" (patient portal) प्रयोग गर्छन् । थुप्रै क्लिनिकहरूले बिरामीको कल उठाउने र सल्लाह सुझाव दिने कर्मचारी नै राखेका हुन्छन् । तर उनीहरू एकदमै व्यस्त हुन सक्छन् भन्ने कुरा ख्याल गर्नुहोस् ।
  • तपाईंलाई सामान्यतया चाहिने औषधिहरूको सूची बनाउनुहोस् र तपाईंलाई चिकित्सकले लेखिदिएको भन्दा बढी प्रिस्क्रिप्सन औषधिहरू दिन मिल्छ कि भनेर आफ्नो औषधि पसल वा स्वास्थ्य सेवा प्रदायकलाई सोध्नुहोस् । आफूले सेवन गर्ने अन्य औषधि वा पूरक सामग्रीको रेकर्ड राख्नुहोस् र चिकित्सकको निर्देशनअनुसार आफ्नो वर्तमान अवस्थाको निगरानी राख्नुहोस् ।
  • सिफारिस गरिएका सबै खोपहरू समयमै लगाउनुहोस् । कोभिड-19 को खोप लगाउनुहोस् र तपाईं योग्य हुनुहुन्छ भने बुस्टर डोज पनि लगाउनुहोस् । तपाईंको नजिकै रहेका खोप लगाउने ठाउँहरू खोज्न यहाँ क्लिक गर्नुहोस्
  • तपाईं आइसोलेसन वा क्वारेन्टाइनमा बस्नु पर्ने भयो भने तपाईंसँग पर्याप्त खानेकुरा र व्यक्तिगत सरसफाइका सामग्री छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस् ।
  • तपाईंलाई मद्दत गर्न सक्ने कोही व्यक्तिलाई तपाईंको स्थितिका बारेमा बताउनुहोस् र समय समयमा फोन गरेर तपाईंको अवस्था बुझिराख्न लगाउनुहोस् । उहाँलाई सन्चो छैन भने तपाईंसँग भेट्नु हुँदैन भन्ने कुरा स्पष्ट पार्नुहोस् ।
  • आफ्नो स्वास्थ्यको निरीक्षण गर्नुहोस् र आवश्यक भएमा चिकित्सा सेवा लिनुहोस् ।
गर्भावस्था, शिशु र कोभिड-19

तपाईं अहिले गर्भवती हुनुहुन्छ भने तपाईंले थाहा पाइराख्नु पर्ने कुराहरू

  • गर्भवती नभएका व्यक्तिहरूको तुलनामा गर्भवती व्यक्तिहरू कोभिड-19 का कारण सिकिस्त बिरामी हुने जोखिम धेरै हुन्छ ।
  • गर्भावस्थाको समयमा कोभिड-19 सङ्क्रमण भएका मानिसहरूको नौ महिना नपुग्दै (अर्थात्, 37 हप्ताभन्दा पहिले नै) बच्चा जन्मिने र बच्चा मृत अवस्थामा जन्मिने जोखिम बढी हुन्छ र गर्भावस्थासँग सम्बन्धित अन्य जटिलताहरू हुने जोखिम पनि बढी हुन सक्छ ।
  • गर्भवती व्यक्ति र उहाँको सम्पर्कमा आउने मानिसहरूले उहाँलाई कोभिड-19 बाट सुरक्षित रहन मद्दत गर्न निम्न उपायहरू अपनाउनु पर्छ:
    • खोप र बुस्टर डोज लगाउने ।
    • मास्क लगाउने ।
    • अरूबाट 6 फिट (2 मिटर) को भौतिक दूरी कायम गर्ने र भीडभाड र हावा राम्ररी प्रवाह नहुने ठाउँमा नजाने ।
    • आफूबाट अरूलाई भाइरस सर्न नदिन आफ्नो परीक्षण गराउने ।
    • नियमित रूपमा हात धुने र खोक्दा र हाच्छिउँ गर्दा कुहिना वा टिस्युले नाक र मुख छोप्ने ।
    • आफ्नो घर नियमित रूपमा सफा र निसङ्क्रमण (डिसइन्फेक्ट) गर्ने ।
    • दैनिक रूपमा आफ्नो स्वास्थ्यको निरीक्षण गर्ने ।
    • तपाईंलाई आफ्नो गर्भावस्थाका बारेमा चिन्ता लागेको छ, तपाईं बिरामी हुनुभयो वा तपाईंलाई कोभिड-19 सङ्क्रमण भएको छ जस्तो लाग्छ भने तुरुन्तै आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई फोन गर्नुहोस् ।

गर्भावस्था र कोभिड-19 विरुद्धको खोप

  • गर्भवती, बच्चालाई स्तनपान गराइरहेका/दूध खुवाइरहेका, अहिले गर्भवती हुने प्रयास गरिरहेका वा भविष्यमा गर्भवती हुन सक्ने मानिसहरूलाई कोभिड-19 विरुद्धको खोप लगाउन सिफारिस गरिन्छ ।
  • गर्भावस्थाको समयमा कोभिड-19 विरुद्धको खोप लगाउन सुरक्षित छ र खोप प्रभावकारी हुन्छ भन्ने कुरा पुष्टि गर्ने प्रमाणको सङ्ख्या बढिरहेको छ । तथ्याङ्कअनुसार गर्भावस्थाको समयमा कोभिड-19 विरुद्धको खोप लगाउँदा हुने सम्भावित जोखिमभन्दा त्यसको फाइदा निकै धेरै रहेको देखिन्छ ।
  • कोभिड-19 विरुद्धको खोपको बुस्टर डोजसम्बन्धी मापदण्ड पूरा गर्ने गर्भवती व्यक्तिहरूले बुस्टर डोज लगाउनु पर्छ ।
  • कोभिड-19 विरुद्धको खोपको कारणले गर्दा गर्भवती व्यक्ति वा उहाँको बच्चासहित कसैलाई पनि कोभिड-19 को सङ्क्रमण हुँदैन ।
  • कोभिड-19 विरुद्धको खोपसहित अन्य कुनै पनि खोपले महिला वा पुरुषको प्रजनन क्षमतामा असर गर्छ भन्ने कुराको हालसम्म कुनै पनि प्रमाण भेटिएको छैन ।
  • तपाईं गर्भवती हुनुहुन्छ र तपाईंसँग कोभिड-19 का बारेमा थप प्रश्नहरू छन् ? आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस् वा MotherToBaby (आमा र बच्चा) मा सम्पर्क गर्नुहोस् । MotherToBaby का विशेषज्ञहरूले फोन वा च्याटमार्फत तपाईंका प्रश्नहरूको जवाफ दिन सक्छन् । यो निःशुल्क गोप्य सेवा सोमवारदेखि शुक्रवार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म उपलब्ध छ । लाइभ च्याट गर्न वा इमेल पठाउन MotherToBaby (आमा र बच्चा) को वेबसाइटमा जानुहोस् वा 1-866-626-6847 मा फोन गर्नुहोस् (यो सेवा अङ्ग्रेजी र स्पेनिस भाषामा मात्र उपलब्ध छ) ।

तपाईंलाई कोभिड-19 लागेको छ भने नवजात शिशुको स्याहार गर्ने तरिका

  • गर्भावस्थाको समयमा कोभिड-19 भएका धेरैजसो मानिसहरूको बच्चा जन्मँदा बच्चालाई कोभिड-19 भएको हुँदैन ।
  • कोभिड-19 को परीक्षणको नतिजा पोजेटिभ आएका अधिकांश नवजात शिशुहरूमा सामान्य लक्षणहरू देखिएका थिए वा कुनै पनि लक्षण देखिएको थिएन र उनीहरूलाई निको भएको थियो । रिपोर्टहरूका अनुसार केही नवजात शिशुहरू कोभिड-19 लागेर सिकिस्त बिरामी परेका थिए ।
  • तपाईं कोभिड-19 लागेर आइसोलेसनमा बस्नुभएको छ र तपाईंको नवजात शिशु छ भने तपाईंको आइसोलेसन अवधि पूरा नहुन्जेल निम्न सुरक्षा उपायहरू अपनाउनुहोस्:
    • घरबाहिरका अरू मान्छेहरूबाट अलग रहनका निम्ति घरमै बस्नुहोस् ।
    • सङ्क्रमण नभएका घरका अन्य सदस्यहरूबाट अलग्गै आइसोलेसन (एकान्तवास) मा बस्नुहोस् र साझा स्थानहरूमा मास्क लगाउनुहोस् ।
    • पूर्ण रूपमा खोप लगाएका र कोभिड-19 का कारण सिकिस्त बिरामी पर्ने उच्च जोखिम नभएका कोही स्वस्थ स्याहारकर्तालाई तपाईंको नवजात शिशुको स्याहार गर्ने जिम्मा दिनुहोस् । यदि सकिन्छ भने आफ्नो दूध पम्प गरेर निकाल्नुहोस् ता कि अर्का स्याहारकर्ताले तपाईंको बच्चालाई आमाको दूध खुवाउन सकून् । तपाईं आफ्नो बच्चालाई फर्मुला दूध खुवाउनुहुन्छ भने कोही स्वस्थ स्याहारकर्तालाई फर्मुला दूध बनाउन लगाउनुहोस् ।
    • तपाईंको आइसोलेसन अवधि पूरा नहुँदै तपाईंले आफ्नो नवजात शिशुको स्याहार गर्नु परेका खण्डमा शिशुलाई दूध खुवाउँदा वा समाउँदा मास्क लगाउने जस्ता उचित सुरक्षा उपायहरू अपनाउनुहोस् ।
    • तपाईंको नवजात शिशुमा कोभिड-19 का लक्षणहरूको निरीक्षण गर्नुहोस् ।
    • गर्भावस्था, बच्चाको जन्म र बच्चालाई कोभिड-19 सङ्क्रमण भएमा वा सङ्क्रमण भएको शङ्का लागेमा उक्त बच्चाको स्याहार गर्ने तरिका (अङ्ग्रेजी भाषामा उपलब्ध छ) ।
  • हालै प्राप्त गरिएको प्रमाणअनुसार आमाको दूधबाट बच्चालाई भाइरस सर्दैन । हालसालै गरिएका अध्ययनहरूमा कोभिड-19 विरुद्धका खोप लगाएका आमाको दूधबाट बच्चाले पनि एन्टिबडी प्राप्त गर्छ भन्ने कुरा देखिएको छ । तपाईंलाई कोभिड-19 लागेको छ र तपाईं बच्चालाई स्तनपान गराउन/दूध खुवाउन चाहनुहुन्छ भने:
    • बच्चालाई स्तनपान गराउनु/दूध खुवाउनुअघि हात धुनुहोस् ।
    • बच्चालाई स्तनपान गराउँदा/दूध खुवाउँदा र तपाईं बच्चाबाट 6 फिट (2 मिटर) भन्दा कम दूरीमा हुँदा मास्क लगाउनुहोस् ।

गर्भवती व्यक्ति, भर्खरै आमा/बुवा बनेका व्यक्ति वा उनीहरूका प्रियजनहरूलाई सहायता र मानसिक स्वास्थ्यसम्बन्धी जानकारी चाहिएमा उनीहरूका लागि Parent Support Warm Line (आमाबुवालाई सहायता प्रदान गर्ने वार्म लाइन) उपलब्ध छ । सोमवारदेखि शुक्रवार बिहान 9 बजेदेखि दिउँसो 4:30 बजेभित्र 1-888-404-7763 मा फोन गर्नुहोस् (यो सेवा अङ्ग्रेजी र स्पेनिस भाषामा मात्र उपलब्ध छ) । हाम्रो Warm Line (वार्म लाइन) मा एक जना सामाजिक कार्यकर्ता, इजाजत प्राप्त थेरापिस्ट वा बच्चाको जन्मपश्चात् डिप्रेसन/व्याकुलता भोगेका आमाबुवाहरू उपलब्ध हुने छन् । तोकिएको समयपछि कल गर्ने नम्बरहरूमा सकेसम्म चाँडो कलब्याक गरिने छ । हामीलाई फोन गर्नुहोस्, टेक्स्ट म्यासेज पठाउनुहोस् वा warmline@perinatalsupport.org मा इमेल पठाउनुहोस् ।

तपाईं र तपाईंको परिवारको स्याहार

Washington Listens (वासिङ्गटन लिसन्स): तपाईं कोभिड-19 ले गर्दा आफूलाई भएको तनावका बारेमा कसैसँग कुरा गर्न चाहनुहुन्छ भने Washington Listens को नम्बर 1-833-681-0211 मा फोन गर्नुहोस् । तपाईंले सोमवारदेखि शुक्रवार बिहान 9:00 बजेदेखि राति 9:00 बजेभित्र र शनिवार र आइतवार बिहान 9:00 बजेदेखि बेलुका 6:00 बजेभित्र उक्त नम्बरमा फोन गर्नुभयो भने तपाईंसँग कुरा गर्नका निम्ति सदैव कोही न कोही उपलब्ध हुनु हुने छ । TTY र भाषासम्बन्धी सेवा उपलब्ध छ । तपाईं यहाँ (यो वेबपेज अङ्ग्रेजी भाषामा उपलब्ध छ) गई मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी थप स्रोतसाधनहरू प्राप्त गर्न सक्नुहुन्छ ।

  • विश्वसनीय मिडिया, जनस्वास्थ्य निकाय तथा स्थानीय स्वास्थ्य निकाय र जनस्वास्थ्य वेबसाइटबाट प्राप्त जानकारीका सहायताले महामारीको वर्तमान परिस्थितिका बारेमा सुसूचित रहनुहोस् र अतिरिक्त सिफारिसहरू प्राप्त गर्नुहोस् ।
  • समुदायमा उपलब्ध स्रोतसाधनहरू, जस्तै फोन नम्बर, वेबसाइट र सोसल मिडिया अकाउन्ट (सामाजिक सञ्जालका खाता) हरूको सूची बनाउनुहोस् । तपाईं उक्त सूचीमा स्कुल, चिकित्सक, जनस्वास्थ्य संस्था, समाज सेवा, मानसिक स्वास्थ्यसम्बन्धी सामुदायिक केन्द्र र सङ्कट परेका बेला सहयोग माग्ने हटलाइनहरू पनि थप्न सक्नुहुन्छ ।
  • आफ्नो परिवारका सदस्यहरूलाई फोन गर्नुहोस् वा उनीहरूलाई अनलाइन सेवाका माध्यमबाट सम्पर्क गर्नुहोस् ।
  • अत्यावश्यक स्वास्थ्य सामग्रीहरू (जस्तै, साबुन, एल्कोहलयुक्त ह्यान्ड स्यानिटाइजर, टिस्यु, थर्मोमिटर, ज्वरो घटाउने औषधि र घरमै कोभिड-19 को परीक्षण गर्ने टेस्ट किट) सजिलै भेटिने ठाउँमा राख्नुहोस् ।
  • तपाईं वा तपाईंको परिवारका सदस्यहरूले नियमित रूपमा सेवान गर्नु पर्ने औषधिहरूको स्टक राख्ने प्रयास गर्नुहोस् ।

तपाईंको परिवारका कम उमेरका सदस्यहरूको ख्याल राख्ने तरिका

  • उनीहरूका साथी वा परिवारसँग फोन, टेक्स्ट म्यासेज, इमेल वा सोसल मिडिया (सामाजिक सञ्जाल) मार्फत कुरा गरेर उनीहरूसँग सहयोग माग्नुहोस् र निरन्तर रूपमा सम्पर्क गरिराख्नुहोस् ।
  • समाचारले उनीहरूलाई अत्याउँछ भने केही समयका लागि समाचार हेर्न, सुन्न वा पढ्न छाड्नुहोस् । आफ्ना बच्चाहरूलाई उनीहरूले इन्टरनेट वा अन्य स्रोतबाट प्राप्त गरेको जानकारीका बारेमा बुझाउनुहोस् ।
  • बच्चाहरूलाई प्रश्न सोध्न प्रोत्साहन गरेर र उनीहरूलाई वर्तमान परिस्थितिका बारेमा बुझ्न मद्दत गरेर राम्ररी सम्झाइ बुझाइ गर्ने कार्यमा ध्यान दिनुहोस् ।
  • उनीहरूलाई कस्तो महसुस भइरहेको छ भन्ने बारेमा कुरा गर्नुहोस् र उनीहरूको भावनाको सम्मान गर्नुहोस् ।
  • उनीहरूलाई चित्रकला वा अन्य गतिविधिका माध्यमबाट आफ्नो भावना व्यक्त गर्न मद्दत गर्नुहोस् ।
  • अरू बेलाको तुलनामा बढी आडभरोसा प्रदान गर्नुहोस् र धैर्यता देखाउनुहोस् ।

पारिवारिक गतिविधिहरू

तपाईंको परिवार आइसोलेसन वा क्वारेन्टाइनमा बसिरहेको भए तापनि यो केही समयका लागि मात्र भन्ने कुरा याद राख्नुहोस् ।

परिवारको सुत्ने, खाने र व्यायाम गर्ने समयतालिका नियमित रूपमा पालना गर्नुहोस् ।

तपाईंका बच्चाहरू उनीहरूका स्कुल वा अन्य संस्थाले आयोजना गर्ने अनलाइन कक्षाहरूमा सहभागी हुनुहुन्छ भने उनीहरूका लागि सहपाठीसँग सुरक्षित रूपमा अन्तरक्रिया तथा भेटघाट गर्ने प्रबन्ध मिलाउने प्रयास गर्नुहोस् ।

एक्लोपन महसुस हुनु, बोर लाग्नु, रोग लाग्ने डर हुनु, व्याकुलता हुनु, चिन्ता लाग्नु र आत्तिनु भनेका महामारी जस्तो तनावपूर्ण परिस्थितिमा महसुस हुने सामान्य भावनात्मक प्रतिक्रियाहरू हुन् भन्ने कुरा बुझ्नुहोस् ।

आफ्नो परिवारलाई आफ्ना पारिवारिक एवं सांस्कृतिक मूल्य मान्यताहरू अनुरूप रमाइलो तथा अर्थपूर्ण गतिविधिहरू गर्न मद्दत गर्नुहोस् ।

अतिरिक्त स्रोतसाधनहरू